प्रचण्ड र बाबुरामको भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बुझिएको छ ।
भट्टराईको सचिवालयका अनुसार प्रचण्ड र भट्टराईबीच प्रतिनिधिसभा निर्वाचित भएकोमा बधाई साटासाट भएको थियो । भट्टराई गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । दुई नेताबीच चुनावपछि भएको यो पहिलो भेट हो । यसअघि प्रचण्ड र भट्टराईबीच प्रकाश दाहालको निधन हुँदा मंसिर ३ गते भेट भएको थियो । उक्त भेटपछि सोमबार पहिलो भेट भएको हो ।
केहि दिन पहिला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बालटकोटमा भेटेका भट्टराईले आज फेरि प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।
भट्टराई पार्टी वैठकका लागि भोलि पोखरा जाँदैछन् । नयाँ शक्ति पार्टीले चुनावी समीक्षाका लागि पोखरामा केन्द्रीय तहको वैठक आह्वान गरेको छ ।
तपाईंको बिचार