Tuesday, May 26, 2020

कोरोनाका कारण आईपीएल अन्यौलमा, अप्रिल १५ सम्म बिदेशीलाई भिषा बन्द

प्रकाशित मिति: 2020/03/12

फागुन २९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ संस्करण यही मार्च २९ बाट   हुने तय भएको छ । तर अहिले विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को मारमा आईपीएल पनि पर्ने देखिएको छ । यही कोरोनाकै कारण आईपीएल तोकिएको समयमा नहुने सम्भावना बढेको छ । त्यसमा पनि भारतीय सरकारले अप्रिल १५ सम्म विदेशीलाई भारत प्रवेशका लागि रोक लगाएपछि विदेशी खेलाडीहरु समेत उपलब्ध नहुने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई स्रोतका अनुसार सरकारको उक्त कदमपछि कुनै पनि विदेशी खेलाडी नआउने जनाएको छ । भारत सरकारले विशेष व्यक्तिहरु बाहेक अन्यलाई अप्रिल १५ सम्म भिसा नदिने जनाएको हो ।

यस्तै महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले पनि आईपीएल स्थगित गर्ने त्यसो नभएमा दर्शकलाई टिभीमा मात्रै सिमित गर्नुपर्ने बताउँदै आएका छन् ।

यस्तै महाराष्ट्र क्याबिनेट बैठकले दर्शकको उपस्थितिलाई रोक्न भन्दै मुम्बईको वाङखडे स्टेडियममा हुने खेलको टिकट नबेच्न निर्देशन दिएको छ । बुधबार मात्रै विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनालाई महामारिको रुपमा घोषणा गरेपछि यसको त्रास अझै बढेको छ । त्यसैले पनि यसपटकको आईपीएल पछि सर्ने लगभग निश्चित भएको हो । आईपीएलको भविष्य के हुने भन्ने निर्णय शनिबार बस्ने आईपीएल गोभर्निङ काउन्सिलको बैठकले तय गर्नेछ । बीसीसीआईले आईपीएल सार्ने वा क्लोज डोर खेलाउने भन्नेबारे निर्णय गर्न बाँकी छ ।

तपाईंको बिचार