Thursday, April 22, 2021

सरकारले त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने

प्रकाशित मिति: 2021/04/02

२० चैत, काठमाडौँ । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार–चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्नुभएको हो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ । नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।

तपाईंको बिचार