Saturday, January 16, 2021

समाजसेवाका चम्किला तारा जगत लामा

प्रकाशित मिति: 2019/11/11

कार्तिक २५, नुवाकोट । बिपन्न आर्थिक पृष्ठभुमिका बिच २०४८ सालमा बिरेन्द्र माध्यामिक बिद्यालयबाट दोस्रो डिभिजनमा एसएलसी पास हुँदा सिंगो गाउँ र मेरो आफ्नै परिवारमा साक्षर हुनेमा म पहिलो थिएँ । ४ सय घरधुरी भएको तामाङ बस्तीमा त्यसपछि दोस्रो व्यक्ति एसएलसी पास भएको हेर्न र सुन्न २०५४ सालसम्म कुर्नुपर्यो । हुनतः प्रजातन्त्र स्थापनापछिका बर्षहरु खासगरी बिंस. २०१५ पछाडी महेन्द्रकालिन समयमै तिब्र गतिमा बिद्यालय निर्माण सुरु भए, तर त्यसको असर म र मेरो बस्तीमा कहिल्यै परेन, गाँउलेहरु गाँस, बास, कपासकै पिरलोमा पिल्सीन बाद्य पारिए, आजको बिकसीत भनीएको अवस्थामा त बाहिरी संसारसँग खास मतलब नराख्ने म हुर्केको भुगोल दुई दशक अघि कस्तो होला अनुभुत हुनेनै भयो । 

‘गन्तव्य नेपालसँगको भलाकुसारीमा जगत लामा ४८, यसरी सुनिए ।’
‘२०२८ सालमा नुवाकोटको तत्कालिन कुमरी गाबिस वडा नं ५, हालको बेलकोटगढी न.पा. वडा नं ४ मा जन्मिएका हुन उनी । ५ दाजुभाई र ५ दिदीबहिनीका बिच जगत साहिला छोरा । त्यो भन्दा बढि परिवारमा एसएलसी पास गर्ने एकमात्रै सन्तान, अझै भन्नुपर्दा सिंगो तामाङ बस्तीमा सबैभन्दा पहिले एसएलसी पास गर्ने व्यक्ति ।  उनी पछाडी उनी बसेको भुगोलले अर्को एसएलसी पास गरेको व्यक्ति पाउन ६ बर्ष कुर्नपर्यो, राज्यसंयन्त्रको उपेक्षाको भुमि, नुवाकोटको कर्णाली भन्दा फरक पर्दैन, उनी सम्झन्छन । त्यसपछिको औपचारिक शिक्षा अंग्रेजी साहित्यमा आईए सम्मको अध्ययन पछि उनको औपचारिक अध्ययनले बिश्राम पायो । जरजर आर्थिक अवस्थाका बिच उनी जिबनयापनका लागि पर्यटक भरियाका रुपमा काम गर्न थाले, अंग्रेजी राम्रै थियो, पछि टुरिष्ट गाईड बने, बिदेशीहरुसँगको संगतकै कारण युरोप, अमेरिका लगायत दर्जनौ मुलुकको भ्रमण गरिसकेका छन । यद्यपी बिगतको गाँउले परिवेश र स्थानियले पाएको सास्ती उनको मानसपटलमा आज पनि ताजै छ ।’
‘‘स्कुल खोलिए, तर बिद्यालयसम्म पुग्नको लागि सिंगो बस्तीलाई उत्प्रेरित गर्ने कोही भएन, सिंगो गाउँ रोग, भोक र गरिबिको चपेटमा पिरोलिनुपर्ने स्थीति, बाटोघाटो र खानेपानीको जोहो र चुलोचौकामै गाँउलेहरुको स्थीतिका पछाडी राज्यसंयन्त्रको उदासिनता पनि त जोडिएला नी । आखिर शिक्षा नै नभएपछि मानिसका सपनाहरुपनि मुर्छित हुने रहेछन । बिदेशीको भारी बोक्दै गर्दा आफ्नो गाँउको स्थीतिबारे उनीहरुलाई बताउँदा उनीहरु अनौठो मान्थे, केहीले सहयोग गर्ने बचन पनि दिन्थे । सामान्य स्वास्थ्य उपचार नपाएर जिबन त्याग्नुपर्ने स्थीतिको म आफै साक्षी हुँ । १० जनाको परिवारमा रोजीरोटीका लागि घरबाहिर निस्केको म एक्लो थिएँ, अरु सबै सामान्य साक्षर सम्म थिएनन । 
‘‘०५२, ०५३ को कुनै एक हिउँदे दिनमा बस्तुभाई चरनका लागि बुवा निस्कनुभएको थियो, पारिलो घाममा ढुंगामाथि बसेर टोहोलाउँदै गर्दा लड्नुभएछ, उठाईदिने कोही भएन, अबेरसम्म घर नआएपछि दाजुहरुले खोजेर घर ल्याएर धामीझाक्री लगाउनुभयो, पछि खबर पाएर उपचारका लागि काठमाण्डौबाट फर्केर घर पुग्दा धेरै ढिला भैसकेको थियो, भौगोलिक जटिलता र गरिबीले दिएको चोट त छँदै थियो, शरीरभित्रका गहिरो चोट बुझाउन पनि धामीझाँक्रीकै साहारा खोज्दा उहाँलाई सदाका लागि गुमाउनुपर्ने नियती नै बन्यो । अशिक्षाकै कारणले अरुले अस्पताल लगेनन, तँ अलिक पढेको थिस, बेलैमा खबर पाको भए मलाई अस्पताल लान्थिस होला, म नरहेपनि तैँले सकिस भने कुनै दिन गाँउलेहरुलाई औसधी लिएर आईज भनेर उहाँ बित्नुभयो । पिडाको सिमा रहेन..... ।’’
त्यसपछि आफ्नो कर्ममा फर्किनु नै थियो, जिन्दगी एकहोरो तवरले चल्ने पनि थिएन, तर बुवाले संसार त्याग्नुभन्दा अगाडि भनेको कुरा भने मनमा गढ्यो । जसरी भएपनि गाँउलेहरुलाई स्वास्थ्य उपचार दिनुपर्छ भनेर लागिपरेँ । पर्यटन क्षेत्रमा काम गर्दा धेरै बिदेशीहरुले समभाव राख्थे, पछिसम्म पनि उनीहरुसँगकै चिनजानमा उनीहरुकै सहयोगमा बिभिन्न मुलुक घुम्ने अवशर पाएँ । त्यहाँ पुग्दा आफ्नो ठाँउको स्वास्थ्य उपचारको अभावमा पिल्छीएका मानिसहरुको बारेमा सहयोगका लागि अपिल गर्थेँ, थोरबहुत सबैले सहयोग गर्थे  सहयोगी मन भएका बिदेशीहरु, साथीभाई समेतको सहयोगमा सय, पाँच सय डलर सहयोग जुटाउँदै सिमेन्ट, बालुवाको जोहो गर्दै अन्ततः हस्पीटल निर्माण भयो  सन २००८ मा अवधारणा गरेको उक्त पोलिक्लिनीक बाटोका अभावका कारण अग्लो डाँडा सम्याएर निर्माण सुरु गर्यौ त्यही बिचमा अस्पताल पुग्ने बाटो बनाउनै पर्ने भयो, सबै गर्दा सन २०१३ मा निर्माण सम्पन्न भएर अहिले डाक्टर र नर्ससहितको उपचार सेवा उपलब्ध छ । काठमाण्डौको झै धेरै सुबिधा सम्पन्न पक्कै छैन, तर अन्य धेरै सदरमुकाममा प्रशुती अपरेशनको अभावमा ज्यान गुमाउनुपर्दाको जस्तो स्थीति अब रहेन, फेरी घाउ चोटपटक लाग्दा सुरुवाती उपचार नै नपाएर मर्नुपर्ने स्थीति अब रहने छैन । 
‘बाबाको नाम शुकमान । बाबा बित्नुभएको २ दशकपछि सम्म आमा जिबितै हुनुहुन्थ्यो । अक्षरमा लेखेका शब्दहरु उहाँले पढ्न सक्ने कुरै भएन । सेवा सुरु भैसकेपछि अस्पतालको गेटमा लगेर आमा, बुवाको सम्झनामा अस्पताल बनाएको छु । अस्पतालको नाम ‘शुकमान मेमोरियल पोलिक्लिनीक’ हो ।  बुवाले मर्नेबेलामा  ‘ सकिस भने गाँउलेहरुलाई औसधी लिएर आईज भन्नुभएको थियो, मैले पुरा गरेँ आमा ।’ यसो भन्दा उहाँ निकै बेर भक्कानिनु भयो,......। नियती..., जे जस्तोसुकै भएपनि  म आफैलाई पनि कहि कतै बुवाले हेरिरहनुभएको भए, पक्कै शान्ति महशुस गर्नुहुनेछ, भनेर चित्त बुझाएँ.... ।’
गाँउमा अझैपनि गर्नुपर्ने धेरै कुराहरु छन । राजनीतिक परिवर्तन भएपनि गाँउलेहरुको दैनिकी अझैपनि दयनिय नै छ ।     उपेक्षित भौगोलिक परिवेशमा थोरै भएपनि मल्हम लगाउन सके आफ्नो जिबन सार्थक भएको महशुस हुनेछ ।समाजसेवाका चम्किला तारा लामाले हालसम्म बिभिन्न सामाजिक संस्थाबाटै दर्जनौ सम्मान प्राप्त गरिसकेका छन, समाजसेवामा उल्लेख्य भुमिका खेलेको भन्दै गन्तव्य मिडिया गु्रपले समेत उनलाई बार्षिकोत्सवको अवशरमा सम्मान गरेको थियो । ‘कम्युनिष्टहरु गरिबिका साथी भनेर सुन्दै आएका मेरा पुस्ता र अहिलेको स्थीति आफैमा परिवर्तनशिल छ । बाटो, खानेपानी, बिद्यालय निर्माण र व्यावस्थापनमा आफ्नो हैसियतले भ्याएसम्म लागिपरेकै छु । स्थानिय श्री बिकास माबिमा २४ सै घण्टा इन्टरनेटसहितको कम्प्युटर ल्याब, उच्च गुणस्तरका बाथरुम र कक्षाकोठाको व्यावस्थापन गरी सरकारी नै भएपनि नमुना बिद्यालयको रुपमा बिकास भएको छ । ९९ प्रतिशत तामाङ जातिका छोराछोरी अध्ययन गर्ने बिद्यालय भएर पनि एकजना पनि तामाङ शिक्षक र स्थानिय भाषाको अध्ययन हुन नसक्नुले कहिलेकाहीँ नमिठो अनुभुति हुन्छ । यद्यपी समय परिवर्तनशिल छ, अब फेरी तामाङका छोराछोरी एसएलसी पास पाएको हेर्न बर्षौ कुर्नुेपर्ने छैन, अब फेरी सामान्य घाउचोटको पिरले जिबन त्याग गर्नुपर्ने छैन, जिबन रहेसम्म संभावनाको खोजी समाजसेवामार्फत चलिरहनेछ,.......उनले भने ।’

स्थानिय समाजसेवी तथा इनडिपेन्डेन्ट ट्रेकिङ गाईड एड्भेन्चर प्रालिका सञ्चालक लामासँगको कुराकानीमा आधारित...

तपाईंको बिचार