Monday, November 29, 2021

भ्रमण वर्ष २०२० लाई सफल पारौ भन्दै ६६ बर्षे जमरकट्टेल नेपाल दर्शनमा

प्रकाशित मिति: 2019/11/15

२९ कार्तिक, काठमाडौं । भ्रमण नेपाल २०२० को अवसरमा सोलुखुम्बु जिल्ला नेचासल्यान ४ निवासी ६६ बर्षे ठगेन्द्र कुमार जमरकट्टेल नेपालका ७७ वटै जिल्लाको स्थलगत भ्रमण गर्ने महान लक्ष्यका साथ नेपाल दर्शन नामक अभियानमा निस्कनु भएको छ ।

विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालको सिफारिसमा जमरकट्टेलले नेपालका ७७ वटै ऋको भ्रमण गर्नु हुने छ । भ्रमणका क्रममा जमरकट्टेलले सर्व प्रथम जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको कार्यालयमा पुगि विश्व हिन्दु महासंघले पठाएको अनुरोध पत्र समन्वय समिति सम्योजक वा कार्यालय प्रमुखलाई बुझाउनु हुनेछ ।

त्यस पश््चात जिल्लाका प्रमुख धार्मिक स्थल तथा प्रमुख पर्यटकिय स्थलहरुको भ्रमण गर्नु हुनेछ । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय समिति सदस्य समेत रहनु भएका जमरकट्टेलले भ्रमणका क्रममा हिन्दु धर्मको वास्तविक वस्तुस्थिति तथा अरु धर्महरु विचको आपसी सहसम्बन्धको विषयमा पनि अध्ययन अनुसन्धान गर्नु हुने छ । उक्त अभियान सफल पार्नको लागि विश्व हिन्दु महासंघले सबै जिल्ला स्थित सरकारी कार्यालय, कर्मचारी, प्रहरी प्रशासन, जनप्रतिनिधि, यातायात व्यवसायी तथा होटल व्यवसायीहरुलाई समेत मन वचन र कर्मले सर सहयोग गर्न अनुरोध गरेको छ ।

नेचासल्यान ४ स्थित जालपा आधारभुत विद्यालय तथा नेचा सामुदायिक अस्पतालका संस्थापक सदस्य जमरकट्टेल सामाजिक तथा धार्मिक कार्यमा क्रियाशिल हुनु हुन्छ । परिश्रमी, लगनशिल र रचनात्मक स्वभावका जमरकट्टेलले प्रत्येक बर्षलाई केहि न केहि रचनात्मक कामको बर्षको रुपमा मनाउदै आउनुभएको छ । सोहि अनुसार उहाँ कै नेतृत्वमा २०७४ सालमा पुर्वाञ्चल मै पहिलो पटक महालङ्गुर हिमालबाट उत्पन्न भई बहने सोलुनदीको किनारमा एकै मण्डपमा १८ महापुराण लगाएर विश्व शान्ति र समृद्धिको कामना गर्ने पवित्र कार्य सम्पन्न भएको थियो ।

त्यसै गरि जालपादिप, केदार दिगदर्शन, हिमाल, उत्साह लगायतका स्मारिका तथा पत्रपत्रिकामा कविता तथा लेख रचना लेख्नु हुने जमरकट्टेलले २०७५ लाई लेखन बर्षको नाम दिई समर्पण नामक कविता सङ्ग्रह प्रकाशन गरि मनाउनुभएको थियो ।

विश्वको शिर सगरमाथा लगायतका उच्च हिमालहरु, विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनि, विविध ताल तलैया, नदीनालाहरु र धार्मिक तथा सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालको पुर्व देखि पश्चिम सम्म भ्रमण गर्न उत्कृष्ट स्थानहरु छन । तिनिहरुको संरक्षण, सम्वर्धन र उजागर गर्न तथा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धनको लागि नेपाल सरकारले २०२० लाई भिजिट नेपाल २०२० नामक बर्षको रुपमा मनाउन लागेको सुन्दा आफुलाई पनि खुसी लागेको हुनाले आफुले पनि नेपाल दर्शन गर्न लागेको जानकारी दिनुभयो ।

पर्यटकिय हिसाबले अति सुन्दर देश नेपालमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढाई देशको आर्थिक उन्नतिको लागि समेत आफ्नो अभियानले सहयोग पुग्ने उहाँको धारणा रहेको छ । उहाँ भन्नुहुन्छ, “कतिपय मान्छेहरु ६० बर्ष कटेपछि बुढो भईयो अब बसेर खाने हो भन्छन तर त्यसो हैन बृद्ध उमेरमा पनि घुमफिर र धार्मिक यात्रा गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिन पनि मैले यो अभियान सुरु गरेको हुँ । अर्को कुरा नेपालमा धुम्नको लागि सहज छ कुनै बाधा अवरोध छैन भन्ने सन्देश दिन पनि मैले यो भिजिट नेपाल २०२० को पुर्वसन्ध्यामा यो अभियान सुरु गरेको हुँ ।”

विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको केन्द्रिय कार्यालय सितापाईलाबाट पत्र तथा शुभकामना लिई पशुपतिनाथको दर्शन गरि आशिर्वाद मागेर सुरु गर्नु भएको नेपाल दर्शन नामक अभियानमा ३ नं प्रदेशका १२, २ नं प्रदेशका ६ र ४ नं प्रदेशका ८ वटा जिल्लाको भ्रमण सकि सक्नुभएको छ ।

तपाईंको बिचार