Sunday, January 24, 2021

आमादब्लम झण्डा प्रकरणमा एनएमएको आपत्ति, कारबाही बारे छलफलमै छौ – पर्यटन बिभाग

प्रकाशित मिति: 2019/11/19

मंसिर ३, काठमाडौं । आमादब्लम हिमालमा कुवेती झण्डा फहराइएको विषयमा नेपाल पर्वतारोहण संघ(एनएमए)ले आपत्ति प्रकट गरेको छ । गन्तव्य नेपालसँग कुराकानी गर्दै एनएमए महासचिब कुलबहादुर गुरुङले आरोहणको अनुमति दिने पर्यटन बिभाग र सम्पर्क अधिकृतको वेवास्ताका कारण झण्डाका नाममा जथाभावी गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन । हिमाल आरोहणका क्रममा आरोहीहरुले उत्साहित भएर खुसी प्रकट गर्न साना आकारका झण्डा फहराउने गरेको भएपनि १५० केजीको झण्डा लैजादा समेत पत्तो नपाउने सम्पर्क अधिकृत र बिभाग प्रति प्रश्न उब्जिएको बताए । एनएमएको यसमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै महासचिव गुरुङले नियमबिपरीत झण्डा फहराईएको सम्बन्धमा भईरहेको कारबाही प्रक्रियाबारे जानकारी पाउनुपर्ने माग समेत गरेका छन ।

यस्तै एनएमएका पूर्व अध्यक्ष आङछिरीङ शेर्पाले झण्डा फहराउने नाममा नेपाली हिमालमा कोहीकसैले मनपरी गर्न नपाउने बताए । उनले बिभागले यसबारे प्रष्टीकरण दिनुपर्ने समेत माग गरे ।
यता पर्यटन बिभागले भने विवाद बढेपछि छानबिन  थालेको जनाएको छ । छानबिनबाट सरकारको अनुमतिबिनै झण्डा फहराइएको पाइएको पर्यटन विभागले जनाएको छ ।
नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जासमेत सहभागी आरोहण दलले गत साता आमादब्लम हिमाल आरोहण गरेको थियो । आरोहणका क्रममा विशाल आकारको कुवेती राष्ट्रिय झण्डा शिखरमा फरफराइएको भिडियो पुर्जाले नै सामाजिक सञ्जालमा राखेका छन् । यसलाई लिएर विभिन्न टिप्पणीहरु भएका थिए ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले झण्डा लैजान सरकारसँग अनुमति नलिइएको बताए । यस विषयमा आरोहण दल, टोली नेता र सरकारी सम्पर्क अधिकृतसँग स्पष्टीकरण लिइएको उनको भनाइ छ । 

‘यस सम्बन्धमा कस्तो कारबाहीको तयारी भईराखेको छ भन्दा दुई देशको कुटनीतिको कुरा भएकाले बिभिन्न तत्वहरुले प्रभाव पार्ने भन्दै उनले आलटाले जवाफ फर्काए ।’
 

के भन्छन् पुर्जा ?
स्पष्टीकरणका दौरान आरोहण दलले झण्डा लैजान अनुमति चाहिन्छ भन्ने थाहा नभएको बताएको छ । जबकि यो आरोहण अभियान चलाउने कम्पनी हिमालयन एडभेन्चर पछिल्लो कीर्तिमानी आरोही पुर्जाकै हो । ८ हजार मिटर अग्ला विश्वका सबै हिमाल चढेका आरोहीलाई आरोहणसम्बन्धी  कानून थाहा नहुनु आश्चर्यको कुरा भएको विभागका अधिकारीहरु बताउँछन् ।
पुर्जा र आरोहण दलले भने भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि झण्डा लगेको बताएका छन् । पुर्जाले यस विषयामा फेसबुकमा स्पष्टीकरणसमेत दिएका छन् । आफ्नो स्पष्टीकरणमा उनले झण्डाको आकार अत्यधिक ठूलो भएकोमा माफी मागेका छन् तर झण्डा फहराउने कार्यले भिजिट नेपालालाई सहयोग गर्ने उनको तर्क छ ।

तपाईंको बिचार