Thursday, January 28, 2021

पर्यटन बोर्डमा नयाँ सीईयो मा जागिर खुल्यो, ३५ बर्ष पुरा भई ६० नकटेकाले भिड्न पाउने

प्रकाशित मिति: 2019/12/04

मंसिर १८, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि आवेदन खुल्ला गरिएको छ । बोर्डको सिईओ छनोटका लागि गठित उपसमितिले आज एक सूचना मार्फत आवेदन माग गरेको हो । इच्छुक ३५ बर्ष पुरा भई ६० बर्ष नकटेका उम्मेदवारले २१ दिन भित्र आवेदन दिन सक्ने छन् । 

बोर्डका हालका सिईओ दिपकराज जोशीको ४ वर्षे कार्यकाल आगामी पुस ७ गते सकिदै छ । भ्रमण वर्षमा सिईओको अभावमा बोर्डको काम प्रभावित हुन नदिने उनको कार्यकाल सकिएसँगै जिम्मेवारी पाउने गरि नयाँ नियुक्ती गर्ने सरकारी योजना छ । भ्रमण वर्ष चलिरहदा नयाँलाई जिम्मेवारी दिदा अन्तर्रा्ष्ट्रिय पर्यटन प्रवद्र्धनको काममा केही प्रभाव पार्न जाने हुदाँ जोशीलाई नै निरन्तरता दिदा उपयुक्त हुने भन्दै केहीले लविङ सुरु गरेको जानकारी प्राप्त भएको छ । यति मात्र होइन स्वयंम जोशी पनि पुन एक कार्यकाल सिईओ हुने मनसाय सहित मन्त्री देखि बोर्ड सञ्चालक समिति सदस्यहरुलाई समेत सहयोगका लागि अनुनय गर्दै हिडेका छन् ।

 

तर केही व्यवसायीहरु भने चार वर्षको अवधिमा जोशीले नेपालको पर्यटन प्रवद्र्धनमा प्रभावकारी काम गर्न नसकेको, नीजि क्षेत्रसँग सहकार्य नगरेको लगायतका कारण देखाउदै उनलाई दोहोर्याउन नहुने मनसायमा छन् । बोर्डको सिईओ पर्यटनमा लागेकाहरुका लागि निकै आकर्षक जागिर हो । मासिक झन्डै तीन लाख रुपैयाँ पारिश्रमिक, देश, विदेश भ्रमण लगायतका कारण इच्छुकहरुको संख्या निकै धेरै छ ।
यो बीचमा नेपाल भ्रमण वर्ष २०२० को संयोजक आफु सम्बद्ध व्यवसायीलाई नबनाएको भन्दै रुष्ट नेकपा निकट पर्यटन व्यवासायीलाई रिझाउने यो उपयुक्त अवसर भएको केहीको विश्लेषण छ । सोही आधारमा पर्यटन मन्त्री योगेश भट्टराई पनि जोशीलाई निरन्तरता नदिई नयाँ पात्रलाई जिम्मेवारी दिने मनसायमा रहेको बुझिएको छ । 

तपाईंको बिचार