Sunday, January 24, 2021

सन २०२२ सम्ममा त्रिभुवन बिमानस्थलको बिकल्प खोज्नुपर्ने उड्डयन प्राधिकरणको भनाई

प्रकाशित मिति: 2019/12/10

२४ मंसिर, काठमाडौं । नेपालमा अहिले हवाई यात्रुको वार्षिक वृद्धिदर औसत ९.३ प्रतिशत रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पछिल्लो १० वर्षमा भएको यात्रुको संख्या विश्लेषण गर्दा उक्त वृद्धिदर देखिएको हो । यसरी वर्षेनी यात्रु बढिरहँदा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चाप थपिँदै गएको छ ।

प्राधिकरणका निर्देशक प्रदीप अधिकारीका अनुसार त्रिभुवन विमानस्थलको अधिकतम क्षमता वार्षिक ९२ लाख यात्रुको हो । ९ प्रतिशतका दरले यात्रुको संख्या बढ्दा हरेक वर्ष ७ लाखभन्दा बढी यात्रु थपिन्छन् । यही दरले यात्रु संख्या बढ्दा सन् २०२२ पछि त्रिभुवन विमानस्थलले थेग्न सक्ने अवस्था रहँदैन ।
एसिया प्यासिफिक क्षेत्रमा पनि करिब ८ प्रतिशतले वार्षिक हवाई यात्रु बढिरहेका छन् । साथै नेपालले हरेक वर्ष पर्यटक संख्यामा उल्लेख्य वृद्धि गर्ने लक्ष्य पनि लिएको छ । तर, त्रिभुवन विमानस्थलको स्तरवृद्धि भएको छैन । न त विकल्पमा कुनै अन्तर्राष्ट्रिय विमानस्थल नै काठमाडौंमा निर्माणाधिन छ ।

सरकारले पर्यटक वृद्धिका लागि लिएको लक्ष्यअनुसार पनि सन् २०२२ सम्म त्रिभुवन विमानस्थलले हवाई यात्रुको चाप थेन्न नसक्ने प्राधिकरणको अध्ययनले देखाएको हो । ‘सन् २०२२ पछि अहिलेकै वृद्धिदरमा यात्रु बढ्दा त्रिभुवन विमानस्थलले काठमाडौंको हवाई यात्रुको चाप थेग्दैन, विकल्प आजै खोजिनुपर्छ,’ उनले भने ।

नेपालीहरुको आयस्रोतमा भएको वृद्धि, उच्च आर्थिक विकास गरिरहेका चीन र भारतको बीचको अवस्थिति, भुपरिवेष्ठित मुलुकलगायत कारणले पनि नेपालमा हवाई यात्रुको चाप निरन्तर बढ्ने देखिएको छ । तर, यो चाप थेग्नेगरी अर्को विकल्प खडा नहुँदा त्यसपछि झन् भयाभह अवस्था आउन सक्ने चिन्ता प्राधिकरण र हवाई विज्ञहरुको रहेको छ ।

काठमाडौंमा किन सम्भव छैन थप पूर्वाधार ?

काठमाडौंमा एउटा मात्र धावनमार्ग रहेको छ । चारैतर्फ डाँडाकाडाले घेरेका कारण उपत्यकामा जुनसुकै रुटबाट पनि हवाईजहाज काठमाडौंमा छिर्न सक्दैनन् । एकपटकमा एउटा मात्र हवाईरुटबाट जहाज छिर्न सक्छ ।

सोहीकारण आकासमा जहाजको लाइन भइरहन्छ । काठमाडौंमा थप पूर्वाधार बिस्तार गर्न जग्गा छैन । न वस्ती उठाएर विमानस्थल बिस्तार गर्न नै सम्भव छ । त्यसकारण भएकै पूर्वाधारमा थपथाप गर्नुबाहेक काठमाडौंले थप यात्रु र हवाईजहाजको व्यवस्थापन गर्ने गरी पूर्वाधारमा लगानी गर्न सक्ने अवस्था नरहेको अधिकारीहरु बताउँछन् ।
तत्कालिन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठ काठमाडौंमा थप लगानी गर्नुको साटो अब विकल्प तयार पार्न सरकारलाई सुझाव दिन्छन् ।

भैरहवा र पोखरा विमानस्थलले विकल्प दिँदैन ?

प्राधिकरणका अनुसार नेपालमा हवाई यात्रुको प्राथमिकता अझै पनि राजधानी केन्द्रित नै छ । संघीयता लागू भएपनि धेरै निकाय काठमाडौंमै थुप्रिएका छन् । ७७ वटै जिल्लाका मानिस काठमाडौंमा बस्छन् । विदेश जानु पर्दा उनीहरु काठमाडौं आउनैपर्छ ।

त्यसकारण नियमित हवाई यात्रा गर्नेका लागि भैरहवा र पोखराले तत्काल विकल्प दिन नसक्ने पर्यटन व्यवसायी बताउँछन् । पहिलो चरणको काम सकिँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको वार्षिक हवाई क्षमता अधिकतम १५ लाख पुग्छ ।

पोखरा विमानस्थलले वार्षिक अधिकतम १० लाख यात्रु थेग्न सक्छ । यी दुई विमानस्थल पर्यटकीय क्षेत्रमा रहेका छन् । दुवै विमानस्थलले काठमाडौं आउने यात्रुभन्दा पनि नयाँ हवाई यात्रु आकषिर्त गर्ने सम्भावना रहेका कारण पोखरा र भैरहवा काठमाडौंको विकल्प बन्न नसक्ने प्राधिकरणको निष्कर्ष रहेको छ ।

अर्कोतर्फ सडक यात्राको दूरीका हिसावबाट पनि पोखरा र भैरहवा काठमाडौं विमानस्थलको विकल्प होइनन् । किनकी भैरहवाबाट अहिलेकै संरचनामा कम्तिमा ८ घण्टा र पोखराबाट कम्तिमा ६ घण्टाको सडक यात्रापछि मात्र राजधानी आउन सकिन्छ । सोहीकारण यी दुई विमानस्थलले काठमाडौं विमानस्थलको विकल्प दिन नसक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

कहाँ जान्छन यात्रु ?

नेपालले काठमाडौंको विकल्प नदिने हो भने नेपालीले त जेनतेन व्यवस्थापन गर्लान तर विदेशीले भने नेपालकै विकल्प खोज्नेतर्फ सचेत हुनुपर्ने विज्ञहरुको सुझाव छ । काठमाडौंमा जति धेरै हवाई यात्रु र जहाजको चाप भयो, त्यति धेरै दूर्घटनाको सम्भावना हुन्छ । आकासमा हवाईजहाजको लाइन र होल्डिङको समस्या बढ्छ । त्यस्तो बेला नेपाल आउन चाहने धेरै पर्यटक छिमेकी मुलुक भारत, भूटान, श्रीलंका तथा माल्दिम्भतर्फ मोडिन सक्ने सम्भावना हुन्छ । किनकी ती देशले हवाई पूर्वाधार र सुरक्षामा पर्याप्त लगानी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल काठमाडौंको विकल्पका रुपमा निजगढ विमानस्थल नबन्ने हो भने काठमाडौंमा अहिले रहेका समस्या समाधान नहुने बताउँछन् । ‘अन्तिम विकल्प निजगढ नै हो,’ उनले भने, ‘हामी काठमाडौंमा मुस्किलले व्यवस्थापन गर्न सक्छौं, तर पूर्ण समाधान दिन सकिन्न ।’

विकल्पमा चर्चा र विवादमात्र

२० फागुन २०७१ मा टर्कीबाट आएको टर्कीस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लयो । यो घटनामा मानवीय क्षति भएन, तर नेपालको हवाई सम्पर्क ४ दिनसम्म बाँकी विश्वसँग विच्छेद भयो ।

२८ फागुन २०७४ मा बंगलादेशबाट आएको जहाज यूएस बंगला जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमै दूर्घटना भयो । ५२ जना व्यक्तिले ज्यान गुमाए । दुई दिनसम्म हवाई सम्पर्क विच्छेद भयो । ७ वैशाख २०७५ मा मालिन्दो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमै चिप्लियो । यात्रु सुकसल रहे, तर नेपालको हवाई सम्पर्क १२ घण्टाभन्दा बढी समयसम्म टुट्यो । २७ असार २०७६ मा यति एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लएपछि पनि करीव १२ घण्टा उडान अवतरण अवरुद्ध भयो ।

यी त प्रतिनिधि घटना हुन् । एउटा मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवरोध आउँदा हरेक पटक निजगढ विमानस्थलको चर्चा हुन्छ । तर, तत्काल विवादमा तानिन्छ र आयोजना अन्योलमा पर्छ । प्राधिकरणका अनुसार नेपालमा छैठौं योजना (आव २०३६र३७) ले नै दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको योजना समेटेको थियो । २०५२र५३ सालमै प्रारम्भिक सम्भाब्यताका आधारमा निजगढ छनोट भयो ।

२०६७,६८ मा विस्तृत सम्भाब्यता अध्ययन सम्पन्न भयो । त्यसबेला देखि नै विमानस्थल निर्माण थालेको भए अहिले काठमाडौंमा हवाई यात्रुले भोग्नु नर्पे असुरक्षा, सास्ती कम भइसकेको हुने थियो । तर, निजगढ काठमाडौंमा समस्या पर्दा मात्र चर्चामा ल्याइन्छ, अरु बेला भने विवादमा तानिने गरेको छ । यसले कतै आयोजना नै प्रभावित हुने हो कि भन्ने चिन्ता सरोकारवालाको रहेको छ ।

तपाईंको बिचार