Sunday, January 24, 2021

भ्रमण बर्ष २०२० को उद्घाटनलाई भव्य बनाउने सरकारको तयारी

प्रकाशित मिति: 2019/12/16

काठमाडौं, ३० मंसिर । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब दुई साता मात्र बाँकी छ । नेपाल सरकार यतिबेला भ्रमण वर्ष उद्घाटनको अन्तिम तयारीमा जुटेको छ ।
जनवरी १ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम तय गरिएको छ । सरकार यतिबेला उद्घाटन समारोहलाई भव्य बनाउन लागिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिए । विभिन्न समिति र उपसमितिहरु बनाएर आवश्यक तयारीको कामलाई तीब्र पारिएको उनले जानकारी दिए ।
विश्व बजारमा नेपाललाई आकर्षक, सुरक्षित र मनोरम गन्तव्यका रूपमा स्थापित गर्न सरकारले गतआर्थिक वर्षको बजेट मार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको हो ।
सरकारी तथ्यांक अनुसार सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएका छन् । सन् २०२० मा लक्ष्य भेट्टाउन त्यो भन्दा ८ लाखभन्दा बढी पर्यटक ल्याउनुपर्ने छ । तर उक्त लक्ष्य भेटिनेमा सरकार स्वयंम र पर्यटक व्यवसायी पनि अझै विश्वस्त छैनन् ।
‘नर्मल ग्रोथको आधारमा पनि सन् २०२० मा १६–१७ लाख पर्यटक नेपाल आउछन् ।’ सचिव अधिकारीले भने, ‘लक्ष्य भेट्टाउन ३–४ लाख बढी संख्या आवश्यक पर्छ । त्यसैका लागि हामी प्रयासरत छौ ।’ सरकार आफै र नेपाल पर्यटन बोर्डले पनि बाह्य प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको र विदेश स्थित नेपाली दूतावास र गैरआवासीय नेपालीहरुलाई पनि प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको सचिव अधिकारीले जानकारी दिए ।
 उसो त यसअघि सरकारले सन् १९९८ र सन् २०११ मा पनि नेपाल भ्रमण वर्ष मनाएको थियो । सन् १९९८ मा ५ लाख र सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर दुबै वर्ष लक्ष्य अनुसार पर्यटक भित्रिएनन् ।

 

तपाईंको बिचार