Saturday, January 23, 2021

पर्यटन बोर्डको सिईयो नियुक्तिमा बालुवाटारबाटै हस्तक्षेप, बैठक अनिश्चीतकालका लागि स्थगीत

प्रकाशित मिति: 2020/01/22

८ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति प्रकरणमा नेकपा ‘रिङ आउट’ भएको छ । सीइओ छनोट समितिले विनियमावली अनुसार तीनजनाको नाम सिफारिस गरेको छ, जसमा सफारिस गरिएका तीनैजना नेकपानिकट व्यक्ति नपरेपछि बालवाटारबाटै प्रक्रियामा हस्तक्षेप भएको भन्दै किचलो सुरु भएको छ । छनोट समितिले डा. धनञ्जय रेग्मी, दीपक बास्ताकोटी र हिक्मत सिंह ऐरको नाम आगामी सीइओका रुपमा सिफारिस गरेको थियो । त्यसमध्ये रेग्मीलाई पहिलो वरियतामा राखिएको थियो । सिफरिसमा परेका तीनैजना नेकपा निकट हैनन् । त्यसो त डा. रेग्मी भने तत्कालीन एमाले निकट रहेर काम गरेका थिए । उनी स्वर्गीय रवीन्द्र अधिकारीका विश्वासपात्र पनि थिए । सीइओ छनोटका लागि तीनजनाको नाम सिफारिस भएर आइसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष केदारबहादुर अधिकारीले बोर्डको बैठक डाक्नुपर्ने थियो । तर, पछिल्लो तीन दिनयता तीन पटकसम्म बैठक स्थगित भयो । सोमबार सांझदेखि भने बोर्डको बैठक अनिश्चितकालका लागि स्थागित भएको सूचना बोर्ड सदस्यहरुलाई दिइएको छ । सिफारिस भएर आएका तीनजनाका बारेमा बोर्डमा छलफल गर्नुको साटो अध्यक्षले बैठक नै नडाकेर दलीय स्वार्थ पूरा गर्न सक्रिय रहेको आरोप बोर्ड सदस्यहरुले लगाएका छन् ।

सञ्चालक समिति सदस्य कृष्णबहादुर महराले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बोर्डका सम्भावित सीइओको विषयमा बैठकमा छलफल गर्ने हो कि नेताको घर–घरमा गएर चाकडी शैली प्रदर्शन गर्ने हो ? सञ्चालक समितिका अर्का एक सदस्यका अनुसार तीनैजना सदस्य नेकपानिकट नपरेको भन्दै सीइओका केही दाबेदार र पर्यटन व्यवसायीहरु प्रधानमन्त्रीनिवासको ढोका ढक्ढक्याउन पुगेका छन् । नेकपा उच्च नेतृत्वले अहिलेको प्रक्रिया बन्द गरी नयां प्रक्रियामा जान बोर्ड अध्यक्ष एवं सचिव केदारबहादुर अधिकारीलाई दबाव दिएको छ ।

‘नियम मिच्ने षडयन्त्र भए मान्य हुँदैन’

बोर्डका अर्का सञ्चालक समिति सदस्य तथा निजी व्यवसायीबाट प्रतिनिधित्व गर्ने दीपक महतले नियमसंगत र निष्पक्ष ढंगले सिफारिस भएर आएको प्रक्रिया मिच्ने षडयन्त्र गरिए त्यो मान्य नहुने बताए । पर्यटन बोर्डको सीइओ नियुक्त गर्दा क्षमता, योग्यताभन्दा बढी दलीय कार्यकर्ता भर्ना खोजिएपछि लफडा भएको संचालक समिति सदस्यहरुले बताएका छन् ।
जनवरी २०२० अर्थात भ्रमण वर्ष शुरुवात भएको यस महिनामा नेपालभित्र र बाहिर धुमधामले पर्यटक ल्याउने गरी कार्यक्रम हुनुपर्ने समय हो । तर, जनवरी १ को उद्घाटनसंगै भ्रमण वर्षको चहल–पहल ‘शुन्य’मा झरेको छ । भ्रमण वर्ष संयोजक सुरज वैद्य गुमनाम छन् भने भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठ बोर्डमा सीइओ खाने दौडमा असफल भएका छन् । उनलाई सीइओ छनोट समितिले योग्य ठानेन र अन्तिम सूचीमा पारेन । शर्ट लिस्टमा उनको नाम नपरेपछि बोर्डमा लफडा शुरु भएको बताइएको छ ।

अब अन्तिम तीनमा परिसकेका व्यक्तिको नाम रद्द गरी नयाँ प्रक्रिया शुरु गर्दा पूरै प्रक्रिया नै विवादित हुने र त्यसले अझ लामो समयसम्म बोर्ड नेतृत्वविहीन संकेत देखिएको छ । यसको नकारात्मक प्रभाव भ्रमण वर्ष अभियानमा पर्ने सरोकारवालाहरु बताउँछन् । २४ डिसेम्बरमा निवर्तमान सीइओ दीपकराज जोशीको कार्यकाल सकिएपछि बोर्ड रिक्त छ ।

तपाईंको बिचार