Thursday, January 28, 2021

भ्रमण बर्षको पहिलो महिनामा लुम्बिनीमा पर्यटक घटे

प्रकाशित मिति: 2020/02/03

२० माघ, बुटवल । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिनामा बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकको संख्या घटेको छ । नेपाल भ्रमण बर्षको पहिलो महिना जनवरीमा गत वर्षको तुलनामा पर्यटक आगमन घटेको हो । तेस्रो मुलुकका पर्यटक मात्र नभई भारतीय र नेपाली पर्यटक पनि गत बर्षको जनवरी महिनाको तुलनामा घटेका छन् । यो बर्षको जनवरीमा १३ हजार १ सय ७ विदेशीले लुम्बिनी भ्रमण गरेका लुम्बिनी विकास कोषले जनाएको छ । गत बर्षको जनवरीमा १३ हजार ६ सय १९ विदेशीले लुम्बिनी भ्रमण गरेका थिए । यति मात्र होइन स्थलमार्ग बेलहिया नाका हुंदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरुको संख्या पनि घटेको छ । बेलहियाबाट गत बर्ष जनवरीमा १२ हजार ४ सय ५२ बिदेशी पर्यटक नेपाल आएकामा यस वर्षको जनवरीमा ११ हजार ७ सय ५९ विदेशी पर्यटक नेपाल आएका अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले बताए । गत बर्ष १९ हजार १ सय ६८ भारतीय लुम्बिनी आएकोमा यो जनवरीमा ६ हजारले घटेर १३ हजार ९ सय ७८ मा झरेको छ ।

लुम्बिनी पुग्ने नेपाली पर्यटक पनि घटेका छन् । गत बर्ष जनवरीमा १ लाख १० हजार ३ सय नेपाली त्यहा गएकोमा यो बर्ष ६७ हजार ९ सय ४२ मात्रै लुम्बिनी पुगेका लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए । लुम्बिनीमा म्यान्मार र चिनिया पर्यटक बढेका छन् भने भारत, थाइल्याण्ड, दक्षिण कोरिया, भियतनाम, जापान, कम्बोडिया लगायतका देशका पर्यटकहरु घटेका छन् । प्रदेश ५ मा प्रदेश सरकारले पनि लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ । संघीय सरकार र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरे पनि लुम्बिनीमा पर्यटक घटेका हुन् । भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणको क्रममा रहेकाले धुलाम्य सडक र अर्कोतिर चीनमा फैलिएको कोरोना भाइरसको त्रासका कारण पर्यटक आगमनमा कमी आएको हुन सक्ने पर्यटन व्यवसायी सन्जय वजिमयले बताए । सडक निर्माण पूरा नहुँदासम्म लुम्बिनीमा पर्यटक बढ्ने छाँटकाट नदेखिएको उनले बताए । सरकारले चीन र युरोपियन मुलुकलाई मात्र प्राथमिकता दिएको तर भारतीय पर्यटक भित्र्याउन चासो नदिंदा पनि भारतीय पर्यटक घटेको अर्का होटेल व्यवसायी कृष्ण गुरुङ बताउँछन् । लुम्बिनी र भैरहवा जस्ता सीमा क्षेत्रमा भारतीय लक्षित क्रस बोर्डर टुरिजमको प्रचूर संभावना भए पनि सरकारले भारतलाई उपेक्षा गर्दा पर्यटन क्षेत्रमा असर परेको गुरुङले औंल्याए । सरकारका नीति नियमहरु पनि पर्यटन प्रवद्र्धनमैत्री हुन नसकेका र विना तयारी र गृहकार्य भ्रमण वर्ष घोषणा गरिएकाले पनि लक्ष्य अनुसार पर्यटक भित्रिन नसकेको सिद्धार्थ होटेल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । सीमा नाकामा पर्यटकमैत्री व्यवहारको कमी, भारतीयलाई पर्यटकको रुपमा नहेर्नु, यातायात परमिट र भन्सार जांचपास एकै ठाउँमा नहुनु, पांच सय र हजार दरका भारु नोट बोक्न प्रतिबन्ध जस्ता कारणले गर्दा भारतीय पर्यटक घटेका श्रेष्ठले बताए ।
 

तपाईंको बिचार