Saturday, January 23, 2021

यसरी सुरु गरिन बालबिवाह विरुद्धको अभियान कल्पना महर्जनले

प्रकाशित मिति: 2020/02/09

माघ २६, काठमाण्डौ । दुइटै मोहडाबाट विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकार कल्पना महर्जनले बाल विवाहविरुद्धको अभियान सुरु गरेकी छन । शुक्रबार एक्सपिरेन्स आउटडोर्स नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भानोदय प्राविबाट अभियान सुरु गरेको घोषणा गरेकी हुन् । कार्यक्रममा आरोही महर्जनले शान्ति शिक्षा अभियानको सहयोगमा पाँंच वटा जिल्लाका विभिन्न स्कुलहरुमा शिक्षामार्फत अभियान सुरु गरेको बताइन् । शिक्षामार्फत् बाल विवाह रोक्न सक्ने विश्वासका साथ आफूले यस्तो अभियान सुरु गरेको उनले बताइन् । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विभिन्न एक दर्जन व्यक्तिहरुलाई पनि सम्मान गरे। कल्पनाको सगरमाथा आरोहणमा प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो।

सोही अवसरमा पूर्व उपप्रधानमन्त्री सिंहले शुक्रबारदेखि नै सञ्चालनमा ल्याइएको भिजिट नेपाल यूट्यूव च्यानलको पनि शुभारम्भ समेत गरे । कार्यक्रममा शताव्दी पुरुष सत्यमोहन जोशीले एक पटक असफल र दुई पटक सफल सगरमाथा आरोहण गर्न सफल कल्पनालाई अबका दिनमा बाल विवाहविरुद्धको सफल आरोहण गर्न सफल हुने शुभकामना व्यक्त गरे । कार्यक्रममा कल्पना महर्जनको आरोहणमा बिशेष योगदान पुर्याएको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)तथा गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीलाई बिषेश सम्मान प्रदान गरिएको थियो । त्यसैगरी आरोहणकै क्रममा सहयोग गरेको भन्दै शिखर पोष्टका अध्यक्ष प्रकाश खालिङ, राईजिङ नेपालका नारायण उपाध्याय लगायतका पत्रकारहरुलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा पर्यटनसँंग सम्बन्धित विभिन्न व्यक्तिहरुले पनि आआफनो धारणा राखेका थिए । कल्पनाले सन् २०१८ मेमा नेपाल तर्फबाट (पहिलो पटक) र सन् २०१९ को मेमा तिब्बत तर्फबाट (दोश्रो पटक) सगरमाथाको सफल आरोहण गरेकी थिइन्  ।

तपाईंको बिचार