Tuesday, January 19, 2021

नयां पर्यटकीय गन्तव्य बन्दै फिकुरी

प्रकाशित मिति: 2020/03/08

फागुन २५, काठमाण्डौ । राजधानीबाट नजिकै रहेको नुवाकोटको फिकुरी डांडा नयँं ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ । ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डांडाबाट लाङटाङ, गोसाइकुण्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला समेत लागेको लाग्ने गरेको छ ।
त्यस अवसमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थीहरु त्यहाँ जाने गरेका छन् । त्यो अवसरमा त्यहाँ पुग्न सके इच्छाएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन भ्रमणबाट भर्खरै काठमाडौ फर्केका पदयात्रीहरुले सो ट्रेकिङ ट्रेल नेपालको पहाडी पर्यटनमा एउटा महत्वपूर्ण ट्रेल हुने बताएका छन् ।
३८०० मिटर उचाइको फिकुरी डाँडाबाट केही नजिकमा रहेको ढ्वाछाप भेडीखर्कमा पुगेर ५५ जनाको टोलीले ‘क्याम्पिङ’ गरेको थियो ।

 रसुवा नुवाकोट पर्यटन समाजले गत साता सुर्यगढी फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन अवलोकन भ्रमण गरेको थियो । आन्तरीक पर्यटनलाई प्रवद्र्धन गर्न रसुवा र नुवाकोटका बिभिन्न ट्रेकिङ रुटमा गत फागुन ११ गतेदेखि १५ गतेसम्म  सम्पन्न भएको पांच दिने भ्रमणका क्रममा रसुवा नुवाकोट पर्यटन समाजका पदाधिकारी, पर्यटन व्यावसायी, पत्रकारलगायतको सहभागिता रहेको थियो । जसअनुसार नुवाकोट दरबारबाट सुरू भएर फागुन १५ गते रसुवाको घलेगढी पुगेर भ्रमण सम्पन्न भयो । सूर्यगढीबाट सुरू भएको कार्यक्रम भाल्चे, किस्पाङ, फिकुरी, ठूलो गाउं हुंदै घलेगढीमा पुगेर सम्पन्न भएको रसुवा नुवाकोट पर्यटन समाजका कार्यबहाक अध्यक्ष शिव लामिछानेले जानकारी दिए । 
नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भएको कार्यक्रमलाई सूर्यगढी, किस्पाङ, उत्तरगया, कालिका गाउंपालिकाले समन्वय गरेका थिए । ३८ सय मिटर उचाइको फिकुरी डांडा, ढ्वाछाप भेडा खर्कमा पुगेर ५५ जनाको संख्यामा रहेको टोलीले ‘क्याम्पिङ’ गरेको थियो ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका सञ्चालक समितिका कार्यकारी सदस्य, पूर्व टान अध्यक्ष तथा वरिष्ठ पर्यटन उद्यमी दीपक महतले ट्रेल अत्यन्तै सम्भावना बोकेको भएकाले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए । नयां पर्यटकीय स्थानको पहिचान र प्रवर्द्धनपछि आन्तरिक पर्यटकले हिमाली जिल्ला रसुवाको लाङटाङ, तामाङ हेरिटेज ट्रेल, गोसाईकुण्ड संगै यो ट्रेलको पनि भ्रमण गर्न सक्नेछन् । अध्ययन अवलोकनमा गएका रसुवा नुवाकोट पर्यटन समाजको टोलीलाई ठांउठांउमा स्थानिय कलासंस्कृति, भेषभूसा सहितको बिशाल जनसहभागिताले भव्य स्वागत गरेका थिए । रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी अबिरलले रसुवा र नुवाकोटको पर्यटन प्रवद्र्धन र बिकासको लागि समाज दु्रत गतिमा लागिपरिरहेको बताउंदै सबै तह र तप्काबाट सहयोग गर्नको लागि अनुरोध गरे । अधिकारीले पर्यटनबिना आर्थिक समृद्धि संभव नरहेको बताउंदै यसको लागि सबै राजनीतिक दल, संघसंगठनहरुले हातमा हात कांधमा कांध गरेर अघि बढ्नुपर्ने बताए ।

 

तपाईंको बिचार