Thursday, January 21, 2021

कोरोनाले टुरगाईडहरु समस्यामा परेको भन्दै सरकारसँग टुर्गानको ९ बुँदे माग

प्रकाशित मिति: 2020/05/12
काठमाडौं, ३० बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को कारणले धरासायी बनेको नेपालको पर्यटन व्यवसायसँगै यस क्षेत्रमा आवद्ध हजारौ टूरगाइड बेरोजगार बन्नु परेको भन्दै टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुगार्न) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ९ बुँदे माग पेश गरेको छ । 
 
टुर्गानले बुझाईएको ९ बुँदे मागमा सरकारले यसअघि घोषणा गरे अनुरुप विभिन्न क्षेत्र एवं आयोजनाहरुमा (टूरगाइडको शिक्षा,क्षमता र दक्षता अनुसार) अन्तरिम रोजगारीको व्यवस्था गर्नुपर्न, टुर्गानको सिफारिसमा नेपाल सरकारबाट अनुमति प्राप्त टूरगाईडलाई बिना धितो न्यूनतम ब्याजदर (बढीमा ५ प्रतिशत) मा ५ वर्षको लागि न्यूनतम रु १० लाख रुपैयाँ कर्जा र १५ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था गर्नुपर्ने छ । 
 
त्यस्तै, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान  (नाथम) ले प्रदान गर्ने नयाँ टुरगाईड तालिम आगामी ३ वर्षसम्म बन्द गर्नुपर्ने, टुरगाईडहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अन्यौलता रहेकोले त्यसलाई सुनिश्चितता गर्नुपर्ने र आगामी कम्तीमा २ वर्ष देशभरि छरिएर रहेका पर्यटकीय गन्तव्यहरुको अध्ययन, अनुसन्धान कार्यमा टुर्गानका प्रतिनिधिहरुलाई पनि अनिवार्य सहभागि गराउनुपर्ने र कूटनीतिज्ञहरुको नेपाल भ्रमणको अवसरमा भ्रमण टोलीले विश्व सम्पदा सूचीकृत सम्पदाहरूको अवलोकनको क्रममा उचित पारिश्रमिक व्यवस्था सहित संस्थाको सिफारिसमा टुर गाईडलाई अनिवार्य सहभागी गराउनुपर्ने लगायत छन् । 
 
कोरोना संकटका कारण पर्यटक आगमन ठप्प हुँदा टूरगाईड र आश्रित परिवारको जीवन कठिन मोडमा पुगेकाले त्यसलाई सहज बनाउन सरकारले आफुहरुको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने टुर्गानका अध्यक्ष केदार तामाङ्गले बताए ।

तपाईंको बिचार