Tuesday, May 26, 2020

कोरोनाले प्रभावित पर्यटन क्षेत्र बचाउन पर्यटन बोर्डले मन्त्रालयलाई बुझायो प्रतिबेदन

प्रकाशित मिति: 2020/05/17
काठमाडौं, ४ जेठ । नेपाल पर्यटन बोर्डले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले नेपालको पर्यटन क्षेत्रमा पारेको गम्भीर असरबाट पर्यटन क्षेत्रलाई बचाइराख्न सकिने गर्नुपर्ने कार्यबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अध्ययन प्रतिवेदन पेश गरेको  ।छ  बोर्डले तत्काल के–कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भन्ने सुझाब सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको हो । 
 
उक्त सिफारिस सहितको प्रतिवेदनले हालको महामारीको अवस्थाबाट सिर्जित बिषम परिस्थितिको असरबाट यस क्षेत्रलाई बचाई राख्न विशेषतः ३ प्रकारका उपायहरुलाई समेटेको छ। पर्यटन क्षेत्रमा आवद्ध कर्मचारी एवं श्रमिकहरूलाई राहत उपलब्ध गराउने, पर्यटन व्यवसायीहरुलाई आर्थिक राहत र सहुलियत उपलब्ध गराउने र पर्यटन क्षेत्रको तत्काल पुनरुत्थानका लागि गर्नुपर्ने केही नीतिगत सुधारहरू रहेका छन्। सबैभन्दा पहिलो उपायका रुपमा यस क्षेत्रमा कार्यरत मानव संसाधनको पेशागत सुरक्षाका लागि २० अर्बको राहत प्याकेजको कार्यक्रम समेटिएको छ।
 
यस अन्तर्गत सो राहत प्राप्त गर्नका लागि पर्यटन क्षेत्रमा कार्यरत रहेको प्रमाण उपलब्ध गराउनु पर्ने बोर्डले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। साथै बोर्डले  अन्तिम ३ महिनाको तलब बैंकमा जम्मा गरेको प्रमाण, प्यान दर्ता प्रमाणपत्र, आयकर तिरेको प्रमाण र सामाजिक सुरक्षा कोषमध्ये कुनै पनि प्रमाण पेश गर्नुपर्ने बिषय समेटिएको छ। यो प्याकेज उपलब्ध गराउन सकिएमा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी एवं मजदूरको जिविकोपार्जनमा सघाई उनीहरुको पलायनलाई रोक्न सकिने बोर्डको धारणा रहेको छ। 
 
त्यसैगरी बोर्डले पर्यटन व्यवसायीहरुका लागि आर्थिक सहयोग एवं सहुलियत उपलब्ध गराउने दोस्रो उपायका रुपमा सुझाएको छ। यस कार्यक्रम अन्तर्गत व्यवसायीहरुले लिएको ऋणको ब्याजदर घटाई आधार दर वा आधार दरमा थप १ प्रतिशतमा नबढ्ने गरी ब्याजदर कायम गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी व्यवसायीहरुले लिएको ऋण चुक्ता गर्नुपर्ने अवधिलाई पुनर्तालिकीकरण गरी ३ बर्ष थप गर्नुपर्ने, ब्याजको पूँजीकरणका लागि १ बर्षको समय उपलब्ध गराइनुपर्ने, हाल राखेकै धितोका आधारमा थप २५ लाखसम्मको ऋण उपलब्ध गराउनुपर्ने र विद्युत महशुल भुक्तानीमा छुट र विद्युतको डिमान्ड शुल्क मिनाहा गनुपर्ने बिषयहरु रहेका छन्।

तपाईंको बिचार