Wednesday, July 8, 2020

कोरोना संकटसँग जुघ्न ठमेलका व्यवसायी र घरधनी एक

प्रकाशित मिति: 2020/06/19

काठमाडौं, ५ असार । विश्वव्यापी फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण समग्र पर्यटन क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायी र घरधनी एकजुट भएर अगाडि बढ्ने भएका छन् ।


ठमेल पर्यटन विकास परिषद्ले उपाध्यक्ष भविश्वर शर्माको संयोजकत्वमा घरभाडा समायोजन समिति नै गठन गरेर कोरोनाका कारण उत्पन्न पछिल्लो समस्याहरुको समाधानका लागि संस्थागत पहल थालेपछि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने वातावरण बनेको हो । परिषदको तर्फबाट गठित घरभाडा समायोजन समितिले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्ने मोडालिटीको लागि पहल भइरहेको जनाएको छ । समितिका संयोजक शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा पर्यटक भए पर्यटन व्यवसाय रहने, व्यवसाय रहे घरधनी रहने र व्यवसायी र घरधनी रहे ठमेल रहने भएकाले सबै मिलेर वर्तमान समस्याको समाधान गर्नुको बिकल्प नरहेको उल्लेख गरिएको छ।


ठमेलले हिजोका दिनमा सरकारलाई राजश्वसँगै विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेलेको भन्दै परिषदले सोही विज्ञप्तिमार्फत ठमेलको पर्यटन क्षेत्र बचाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने मागसमेत गरेको छ । कोरोनाका कारण व्यवसायी ठूलो मर्कामा परेको भन्दै न्यूनतम व्याजदरमा सहुलियत ऋण, विद्युत् सेवा शुल्क, इन्टरनेट सेवा शुल्क एक वर्षसम्म मिनाह गर्नुपर्ने परिषद्को माग छ। 

तपाईंको बिचार