Tuesday, August 4, 2020

आगामी सिजनको हिमाल आरोहण र ट्रेकिङको परमिट खुल्यो

प्रकाशित मिति: 2020/08/02

काठमाडौं, १८ साउन । लकडाउनका कारण चैत देखि जेठ सम्म अर्थात् वसन्त ऋतुको आरोहण बन्द गरेको नेपालले हेमन्त ऋतुका लागि स्वीकृति दिन थालेको छ । हिमाल आरोहण र पदयात्रा दुवैका लागि स्वीकृति जारी गर्न साउन १५ देखि सरकारले खुला गरेको पर्यटन विभागले जनाएको छ ।

भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुन लागेको छ । यसैलाई मध्यनजर गरेर हेमन्त ऋतुका लागि पर्वतारोहण र पदयात्राको स्वीकृति जारी गर्न लागिएको हो । मूलतः वसन्त ऋतु आरोहणका लागि उपयुक्त समय मानिन्छ भने पदयात्राका लागि दुवै ऋतु उत्तिकै अनुकुल मानिन्छन् । नेपालले वसन्त याममा पुरै बन्द गर्नुपरेकाले सगरमाथा सहित अग्ला हिमालहरुको आरोहण गर्नेहरुको संख्या हेमन्त ऋतुमा बढ्न सक्ने अनुमान गरेको छ ।


नेपालमा अहिले कोभिड–१९ को संक्रमण बढीरहेको छ । तरपनि सरकारले साउन १ देखि बन्दाबन्दी खुलाउँदै यसअघि बन्द गरेका सिनेमा हल, सभासम्मेलन केन्द्रहरु र त्यता गतिविधिहरुबाहेक अन्य सबै सेवा क्रमशः खुला गर्न अनुमति दिएको छ । सरकारले यसअघि वसन्त याममा भने नोभेल कोरोना भाइरस फैलन सक्ने खतरा औंल्याउँदै आरोहण र पदयात्रा पर्यटन बन्द गरेको थियो ।


हेमन्त यामको आरोहण समय सेप्टेम्बर महिनादेखि नोभेम्बरसम्म कायम रहन्छ । नेपालले पश्चिमा देशहरुमा संक्रमण घटेको तथ्यलाई दृष्टिगत गर्दै हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकहरुको संख्या बढ्ने अनुमान गरेको छ । 

तपाईंको बिचार