Sunday, September 20, 2020

कोरोना संकटले होटल तथा रेष्टुँराका ४० प्रतिशत कर्मचारीले रोजगारी गुमाए

प्रकाशित मिति: 2020/08/06

काठमाडौं, २२ साउन । कोरोनाका  कारण सबैभन्दा बढी रोजगारी गुमाउने क्षेत्र होटल तथा रेष्टुँरा रहेको छ। कोरोना भाइरस नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेपछि देशभरका सबै होटल तथा रेष्टुँरा बन्द भए जसका कारण यस क्षेत्रमा कार्यरत ४० प्रतिशतभन्दा बढी श्रमिकले रोजगारी गुमाएका छन्।नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा सबैभन्दा बढी श्रमिकले रोजागरी गुमाएको क्षेत्र होटल तथा रेष्टुँरा रहेको उल्लेख छ। 

उक्त अध्ययन रिपोर्टमा समग्रमा २२ दशमलब ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको उल्लेख छ।  नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान छ। हालसम्म नेपालमा तारेस्तरका १ सय ३८ र पर्यटकस्तरका १ हजार १५१  गरी जम्मा १ हजार २ सय ८९ होटल रहेका छन्। उक्त होटलहरुमा रहेको बेड संख्या ४४ हजारभन्दा बढी छ। 

नेपाल होटल संघबाट प्राप्त तथ्यांकअनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी रहेको छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड तथा होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख छ।  यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधावापत ८५ करोड २२ लाख रुपैयाँ खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिएर सञ्चालन भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्। 

तपाईंको बिचार