Sunday, January 17, 2021

पर्यटन क्षेत्र खुलाउन आलटाल गरेको भन्दै आन्दोलनमा जाने व्यवसायीको चेतावनी

प्रकाशित मिति: 2020/08/15

काठमाडौं, ३१ साउन । सरकारलाई पर्यटन क्षेत्रसँग आवद्ध २१ वटा व्यवसायिक तथा श्रमिक संगठनले भदौं १६ गतेदेखि उडान सञ्चालन गर्दै पर्यटन क्षेत्र खुलाउन माग गरेका छन् । चार्टर उडान अनुमति दिइरहेको तर नियमित उडान सञ्चालनको समय पटकपटक सार्दै आइरहेको भन्दै ती संगठनहरुले भदौ १६ देखि पर्यटन क्षेत्र खुला नगरेमा आन्दोलनको चेतावनी दिएका हुन । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमार्फत सरकारलाई आन्दोलनको चेतावनी दिने संगठनहरुमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज एसेसिएसन अफ नेपाल, होटल एसोसिएसन नेपाल, नेपाल पर्वतरोहण संघ, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल, टूरिष्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघलगायत छन् । यी संगठन भन्दाअघि मंगलबार आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टै ज्ञापन बुझाउँदै भदौ १६ पछि आन्तरिक हवाइ उद्योगलाई सञ्चालनमा नल्याएमा आन्दोलनको चेतावनी दिइसकेको छ ।

यस्तै, यी संगठनहरुले विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको बनाएको मापदण्ड अनुसार पर्यटन क्षेत्र सञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् । वायुसेवाबाहेकका अन्य तर यसैमा आश्रित संगठनहरुले यो क्षेत्र ऋणात्मक भएको जनाउँदै अब आउने पर्यटकीय सिजनमा राज्यले अबलम्बन गरेका स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण पालना गराउँदै सेवा बिस्तार गर्नुपर्ने माग गरेका छन् । 

तपाईंको बिचार