Wednesday, January 20, 2021

विदेशबाट आउनेका लागि क्वारेन्टिन होटलको सूची

प्रकाशित मिति: 2020/08/21

काठमाडौं, ५ भदौ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार ५ सय क्षमता छ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गएको २ भदौमा कोभिड–१९ विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टिनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठामाडौँलाई उपलब्ध गराएको थियो। तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत रमा घिमिरेले बताइन्। 

पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नसक्ने क्षमता भएका होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गर्न सूचीकृत गरिएको बताए। अहिले तीन हजार ५ सय  शय्या भएको होटललाई तयारी अवस्थामा रहेको उनले बताए । 


सकभर आइसोलेटेड क्षेत्रमा भएका, कम्पाउण्ड भएका, बाहिरी व्यक्तिसँग घुलमिल हुन नसक्ने, सामाजिक दूरी कायम गर्न सक्ने होटललाई सूचीकृत गरिएको उनले बताए। होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटलको सूची सार्वजनिक गरिएको उनको भनाइ छ। पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने छ।

तपाईंको बिचार