Monday, January 18, 2021

रात्रिकालिन पर्यटक बस सेवा सुरु

प्रकाशित मिति: 2020/09/27

असोज ११, काठमाण्डौ । देशदर्शन बस सेवा प्रालिले रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ ।  
यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसले पर्यटकलाई दिवा तथा रात्रिकालीन सेवा प्रदान गरेका हुन् । झण्डै रु १२ करोडको लगानीमा शुरु भएको बस सेवा असोज १ देखि नै शुरु भइसकेको छ ।
काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा र काठमाडौँ–मुक्तिनाथ दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको प्रालिका सञ्चालक प्रह्लाद लोहनी बताउँछन् । उक्त बससेवा काठमाडौँको बौद्धबाट शुरु भएर अन्त्यमा सोह्रखुट्टे भएर छुट्नेछ ।
 
हाल काठमाडौँदेखि मुख्य पर्यटकीय स्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् ।  

 

तपाईंको बिचार