Wednesday, December 1, 2021

ठमेलमा रात्रीकालिन व्यावसायीको प्रदर्शन :‘सरकार भन्छ, ताला ला, घरबेटी भन्छन– छाडेर जा’

प्रकाशित मिति: 2020/12/04

मंसिर १८, काठमाण्डौ । ठमेल पर्यटन बिकास परिषद्(टीटीडीसी) र ठमेल रात्रीकालिन व्यावसायीको संयुक्त आयोजनामा ठमेलमा रात्रीकालिन व्यावसायको सञ्चालन गर्न पाउनुपर्ने माग राखेर आन्दोलन सुरु भएको छ ।

कोरोनाका कारण लामो समय व्यवसाय बन्द हुँदा पर्यटन क्षेत्र धरासायी बनेको भन्दै उनीहरुले पूर्ववत रुपमा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन ।
बुधबार देखी सुरु भएको बिरोध कार्यक्रम शुक्रबार सम्म जारी रहनेछ । यसबिचमा सरकारले आफुहरुका माग पुरा नगरे कडा आन्दोलनमा उत्रिने टीटीडीसीका महासचिव धु्रब अधिकारीले बताए ।
कोरोना कहरपछि पोखराको लेकसाईड लगायत अन्य धेरै स्थानमा व्यवसाय पूर्ववत रुपमा सञ्चालन भईसकेको सन्दर्भमा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई मात्र थुनेर राख्न नमिल्ने उनीहरुको तर्क छ ।
हिजो ठमेल स्थीत सञ्चयकोशमा भेला भएका सयौँ व्यवसायीहरुले संयुक्त रुपमा बिरोध कार्यक्रम गरे ।  ‘व्यवसाय खोलौँ, मजदुर बचाउँ, रोगले भन्दा भोकले मर्ने भयौँ, सरकार भन्छ अझै ताला ला, घरबेटी भन्छन– छाडेर जा’ लगायतका व्यानर सहित उनीहरु बिरोधमा उत्रिएका हुन । आज पनि प्रदर्शनका कार्यक्रम जारी राख्ने व्यावसायीहरुले बताएका छन ।
कोरोनापछि ठमेल खुलेपनि ठमेलको व्यापार रात्रिकालिन जिबनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले आफुहरु आन्दोलनमा उत्रिनुपरेको टीटीडीसीका महासचिव अधिकारीको भनाई छ । आफुहरु सरकारले तोकेको सुरक्षा सतर्कता अपनाउँदै पर्यटन क्षेत्रको उथ्थानमा लागिपर्ने उनले बताए । पूर्ववत अवस्थामा रातको ३, ४ बजेसम्म व्यावसाय सञ्चालन गर्न पाउने स्थीति भएपनि हाल १० नबज्दै ठमेल सुनसान देखिन थालेको भन्दै व्यसायीहरुले चिन्ता प्रकट गरेका हुन ।

तपाईंको बिचार