कतारमा न्यूनतम तलब ७ सय ५० रियाल तोकियो

दोहा । आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतार सरकारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल तोकेको छ ।
कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् ।अब नेपाली कामदारले न्यूनतम २० हजार रुपैयाँ मासिक तलव पाउनेछन् ।
कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ ।’ उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन् ।
यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् ।
सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो ।
तपाईंको बिचार